Wednesday, December 16, 2015

लमजुङमा राति कुपन, दिउँसो ग्यास

कम ग्यास आउने र उपभोक्ताको भिडभाड ठूलो हुने भएपछि यहाँ राति नै कुपन वितरण गरी दिउँसो बाँडिएको छ । 
सदरमुकाम बेंसीसहरमा ल्याइएको लुम्बिनी ग्यासको आधा भरिएको २ सय ६४ सिलिन्डरका लागि उपभोक्तालाई शनिबार राति कुपन काटिएको थियो । जिल्लामा योसहित ३ पटक खाना एलपी ग्यास भित्रिए । यसअघि लाइनमा अघि हुनेलाई ग्यास दिने गरिएको थियो । प्रशासनको समन्वयमा प्रहरी र वडा नागरिक मञ्च बेंसीसहर ११ का संयोजक छविन्द्र गुरुङलगायत स्थानीयले सल्लाह गरी मध्य राती १२ बजे कुपन वितरण गरेको हो । भारतीय सीमा क्षेत्र बिस्तारै खुकुलो बन्दै गएपछि यहाँ ग्यास भित्रने क्रम सुरु भएको छ । तर, थोरैमात्रामा ग्यास आएको उपभोक्ताले गुनासो गरेका छन् ।

बेंसीसहरमा प्रभु सप्लायर्सका प्रभुराम प्रधानले शनिबार राति नारायणगढबाट २ सय ६४ सिलिन्डर ग्यास ल्याएर वितरण गरेका हुन् । सुन्दरबजारमा नवीन स्टोर्सका नवीन श्रेष्ठले ल्याएको ४ सय ४० गरी ७ सय ४ वटा लुम्बिनी सिलिन्डरका आधा भरिएको ग्यास आइतबार वितरण गरिए । ३ पटक गरेर नाकाबन्दीपछि यहाँ १ हजार ४ सय २९ वटा ग्यास वितरण गरिएको प्रशासनले जनाएको छ । ग्यास वितरणस्थलमा प्रहरी खटिएर पालो मिलाउने गरिएको छ । सडकछेउमै वितरण गरिएकोले ट्राफिक प्रहरीलाई सवारी व्यवास्थापन गर्न निकै कठिनाइ परेको छ ।

ग्यास पाएपछि सबैभन्दा बढी गृहिणी र विद्यार्थी खुसी छन् । भुजुङ स्थायी घर भई बेंसीसहर बस्दै आएकी बालमाया गुरुङले ग्यास पाएपछि खुसी व्यक्त गरिन् । ‘हिजोसम्म दाउरामा पकाएर खाँदै थियौं, अबदेखि ग्यासमा पकाएको खाना पाउने भयौं,’ उनले भनिन्, ‘लाइनमा बस्दा समस्या भयो, सरकारले छिटो नाका खोल्नुपर्‍यो ।’ यसअघि लाइनमा बस्दा पनि नपाएका पार्वती तामाङले आइतबार ग्यास पाएको बताइन् ।

ग्यास पाउँदा बेंसीसहरमा डेरा गरेर बस्दै आएका विद्यार्थी पनि दंग छन् । तर, ३ पटकसम्म ग्यास आएर लाइनमा बस्दा पनि ग्यास नपाएको बेंसीसहर क्याम्पस रोडकी आरती मगरले बताइन् । ‘रातभरि बसें, पालो आउँछ कि भन्यो, आएन,’ उनले भनिन्, ‘सबै आफ्नो पालोमा बस्ने भए पो हुने, बीचबीचमा ल्याएर राखिँदो रहेछ, जहिले पनि त्यस्तै ।’ उनले राति बाँडिएको कुपनले महिला, अपांगता भएका तथा वृद्धवृद्धालाई समस्या परेको र युवाहरूले मात्रै ग्यास पाउने गरेको बताए ।


No comments:

Post a Comment