
Wednesday, December 16, 2015
लण्डनबाट परराष्ट्रमन्त्री थापाको भारतीय समकक्षीसँग फोन वार्ता
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतसँगको नाका अवरोध छिट्टै सहज हुने विश्वास व्यक्त गरेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षगाँठका अवसरमा यहाँ आयोजित विशेष समारोहमा भाग लिन लन्डन आएका मन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग फोन वार्तापछि त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।
लन्डन उत्रिएलगत्तै बेलायती राजनीतिज्ञहरुसँग भेट तीव्र पारेका थापाले बुधवार संसद भवनमा ब्रिटेनको सर्वदलीय संसदीय समितिको नेपाल डेस्क अध्यक्ष वीरेन्द्र शर्मासहितका सांसदहरुको भेटमा भारतीय आश्वासनबारे अवगत गराएको श्रोतले जनाएको छ ।
‘भारतीय समकक्षीसँग लन्डनबाटै टेलिफोन वार्ता भएपछि मन्त्रीज्यू छिट्टै नाकाबन्दी खुल्नेमा आशावादी देखिनुभएको छ’, श्रोतले भन्यो । नेपाली संघसंस्थाका प्रतिनिधि समेत सहभागी उक्त भेटमा बेलायती सांसदहरु म्याथ्यू अफोर्ड, लर्ड स्यान्डवीच, रुथ क्याडबरी, अर्ल अफ स्यान्डवीच आदि सहभागी थिए ।
थापाले बुधबारै बेलायती समकक्षी फिलिप ह्यामण्ड, राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनसँग पनि बेग्लाबेग्लै भेट गरेका छन् ।
भेटका क्रममा नेपाल बेलायतबीचको द्विपक्षीय सम्वन्ध र सहयोगबारे कुराकानी भएको थियो । साथै बेलायती मन्त्रीहरुले नेपालमा भारतीय नाकाबन्दीका कारण उत्पन्न मानवीय संकटप्रति चासो व्यक्त गरेका श्रोतले उल्लेख गरेको छ ।
भेटमा थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल, स्वकिय सचिव भरतकुमार रेग्मी, लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री सहभागी थिए ।
मन्त्री थापा बिहीबार विहानदेखि एफसीओमा परामर्श संयन्त्रको दोश्रो बैठकमा व्यस्त रहे । परामर्श संयन्त्रको बैठकमा थापासहित नेपाली प्रतिनिधिमण्डल, कार्यवहाक राजदूत क्षेत्री र एफसीओका दक्षिण एसिया निर्देशक एवं नेपाल हेर्ने प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।
मन्त्री थापाले १९ डिसेम्बर, शनिवारसांझ लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपाली संघ, बेलायतसहित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने एक कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको छ । थापाले भूपू गोर्खाहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment