Wednesday, December 16, 2015

फेरि गोलकै चुनौती

नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा दुई वर्षअघि दक्षिण एसियाली महारथी भारतमाथि २–१ को सनसनीपूर्ण जित निकालेको थियो । २० भदौ, २०७० को त्यो खेल साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम प्रतिस्पर्धा थियो, जहाँ अनिल गुरुङले ७० र जुमनु राईले ८१ औं मिनेटमा गोल गरेका थिए । त्यसयता नेपाली फुटबलमा नसोचिएका परिवर्तन भएका छन् । मैदानभित्र खेल्ने टिमलाई हेरौं, जुमनु अहिले प्रारम्भिक छनोटको ४१ खेलाडीमा पनि अटाएनन् । अनिल भने नयाँ कप्तान भएका छन् । उनको हातमा नेतृत्व आउँदासम्म त्यस टिमका आठ खेलाडी मात्र सँगै छन् ।
मैदानबाहिरका गतिविधि (म्याच फिक्सिङ) र बिर्सनलायक नतिजाले नै राष्ट्रिय टिममा आमूल परिवर्तन ल्याएको हो । भारतविरुद्ध जुमनुको गोलयताका ८ सय १९ मिनेटमा कुनै पनि नेपाली खेलाडीले बललाई गोललाइन पार गराउन सकेका छैनन् । गोलविहीन शृंखला नौ खेल भइसक्यो । गोल नगरी खेल जित्ने त भएन नै । नवौं साफको तयारीमा रहेको नेपाली टिमले गोलविहीन शृंखलालाई बंगलादेशविरुद्ध बिहीबार ढाकामा हुने मैत्रीपूर्ण खेलमा पूर्णविराम लगाउने लक्ष्य बनाएको छ ।
‘मैत्रीपूर्ण खेल भएपछि आक्रामक खेल्नछौं,’ कप्तान अनिलले ढाकाबाट भने, ‘पहिले ४–४–२ को संरचनामा खेलेका थियौं । अहिले ४–३–३ को आक्रामक शैली अपनाएर अभ्यास गर्‍यौं र त्यसअनुसार खेल्नेछौं । आर्मी र पुलिससँग खेलिएका ५ अभ्यास खेलमा २७ गोल गरेका थियौं । त्यसैले गोलको खडेरी तोड्ने विश्वास छ ।’ ४३ खेल खेल्दै नौ गोल गरेका उनले थपे, ‘यो साफको अभ्यास पनि हो । यसमा राम्रो गर्नसके साफका लागि प्रेरित गर्नेछ ।’
नेपाली टिम युवा खेलाडीले भरिएको छ । चार खेलाडीले डेब्यु गर्नै भ्याएका छैनन् । मात्र डेब्यु गर्नेको संख्या ६ रहेको छ । त्यसैले हुन सक्छ, सबैभन्दा बढी ५० क्याप जितेका डिफेन्डर विराज महर्जनले भने, ‘सबै खेलाडी प्रतिभावान् छन् । भाइ (जुनियर) सबैले राम्रो खेलिरहेका छन् । अनुभवको कमी भएकाले उनीहरू अलि अत्तालिन्छन् कि भन्ने डर मात्र हो । तर, उनीहरूमा केही गर्नुपर्छ भन्ने जोस छ । ढुक्कसँग खेल्यौं भने पक्कै पनि गोल गर्नेछौं ।’
मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले नवौं साफको ६ दिनअघि बंगलादेशजस्तो स्तरीय टिमसँग खेल्न पाउनु राम्रो भएको बताए । ‘अनुभवविहीन भए पनि खेलाडी प्रतिभावान् छन्,’ उनले भने, ‘दुई महिना एकसाथ अभ्यास गरेका छौं । हामी राम्रो प्रदर्शन गर्नेमा केन्द्रित हुनेछौं ।’ बंगलादेशसँग खेल्ने केही दिनअघि मात्र थाहा पाएकाले प्रतिद्वन्द्वीबारे खासै जानकारी नभएको उनले बताए । उनलाई बंगलादेशसँगको खेलबाट साफमा कसलाई खेलाउने भन्ने निर्णय गर्न सहज हुनेछ । क्लबमा अनुबन्धको प्रयासमा मेडिकल परीक्षणका लागि मलेसियामा रहेका रोहित चन्द बिहीबार बिहान ढाका पुग्ने बताइएको छ ।
नेपाल र बंगलादेश परम्परागत प्रतिद्वन्द्वी हुन् । फिफा वरीयतामा नेपालभन्दा १० स्थान माथि छ, बंगलादेश (१८२ औं) । पछिल्लोपल्ट दुई वर्षअघि दशरथ रंगशालामा यी दुई टिम आपसमा खेलेका थिए । आठौं साफ च्याम्पियनसिपको पहिलो खेलको भेटमा नेपालले २–० को जित निकालेको थियो । त्यसको ६ महिनाअघि दशरथ रंगशालामै भएको एएफसी च्यालेन्ज कपको भेटमा भने नेपाललाई पाहुना टिम बंगलादेशले २–० ले हराएको थियो ।
निरन्तर ६ वर्ष राष्ट्रिय टिमको कप्तान रहेका सागर थापासहित ५ फुटबलरलाई म्याच फिक्सिङ गरेको अभियोगमा एएफसीद्वारा आजीवन प्रतिबन्ध र २१ वर्षयता एन्फा प्रमुख रहेका गणेश थापामाथि घूस लिएको आरोपमा फिफद्वारा १० वर्ष प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक जरिवाना गरेयता नेपाली टिम पहिलोपल्ट मैदानमा ओर्लन लागेको हो ।


No comments:

Post a Comment