Wednesday, December 16, 2015

गीता र निस्प्रभ सँगै

वैशाख १२ को विनाशकारी भूकम्पले जमिन हल्लाइरहेको बेला कवि गीता त्रिपाठीको नयाँ कविता संग्रह ‘सिमलको गीत’ लोकार्पण हुँदै थियो । भूकम्पले कार्यक्रम बीचैमा तितर– बितर भयो ।
राजधानीमा बुधबार कवि त्रिपाठीले त्यो कहालीलाग्दो समयको सम्झना गर्दै त्यही नयाँ कृतिको शीर्ष कविता सुनाइन् । लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर र सर्वनामले हरेक महिना गर्दै आएको ‘हामी : कवि र कविता’ शृंखलाको ३२ औं शृंखलामा युवा कवि निस्प्रभ सजीसँगै त्रिपाठी छानिएकी थिइन् । कार्यक्रमको पहिलो चरणमा प्रस्तुत भएकी त्रिपाठीले समसामयिक सन्दर्भका कवितासँगै गीतका हरफसमेत सुनाइन् । 
‘बाल्यकालको सम्झनामा’ शीर्षकको कविताबाट प्रस्तुति थालेकी त्रिपाठीले ‘सहरमा जीवन गीत’, ‘रिभोल्विङ सपनाहरू’ लगायत झन्डै एक दर्जन सिर्जना सुनाइन् । उनले कविताहरूमा गाउँको नोस्टाल्जिया, सहरी सभ्यताको संवेदनहीनतादेखि राजनीतिक कुरूपतासम्मका सन्दर्भ चोटिलो ढंगले उठाइन् । 

दोस्रो चरणमा प्रस्तुत भएका कवि सजीले पनि उत्तिकै चोटिला कविताहरू सुनाए । केही मुक्तकबाट प्रस्तुति थालेका सजीले आधा घन्टाको समयमा झन्डै दुई दर्जन रचना सुनाए । उनका छोटा, मिठा र चोटिला रचनाहरू लोभलाग्दा थिए । केही दिनअघि मात्रै ‘डार्लिङ हार्बर’ उपन्यास ल्याएका उनले पाँच वर्षअघि नै अस्ट्ेरलियाबाट कविता कृति ‘इजलासमा लाहुरे फूल’ निकालेका थिए । उनले ‘बाटो’, ‘जीवन शृंगार’ ‘आमा’ जस्ता कविता सुनाए । उनका प्राय: रचनाहरू सरल तर दार्शनिक चेतना सहितका थिए । दुवै कविलाई स्रष्टाहरू तुलसी दिवस र डा. विष्णुविभु घिमिरेले माला लाइदिएर स्वागत गरेका थिए । नाकाबन्दीलाई चुनौती दिन पनि शृंखला नियमित गरिएको साहित्य कला मन्दिरका राजेन्द्र शलभले जनाए । 

विनोद हेटौंडामा 
युवा कवि विनोदविक्रम केसी हेटौंडामा सुनिए । साहित्य संगम मकवानपुरले उनलाई एकल कविता वाचनमा उभ्याएको हो । उनले समसामयिक सन्दर्भका डेढ दर्जन कविता सुनाए । काठमाडौंबाट आएका कविहरू केशव सिलवाल, दीपक सापकोटा, राजु स्याङ्तान र सञ्चारकर्मी राजन नेपालले पनि उनलाई वाचनमा साथ दिए । हेटौंडाकै कविद्वय अनिता न्यौपाने र जेनन नेपालले विनोदका कविता सुनाए । 

चितवनबाट आएका कवि तथा निबन्धकार भूपीनले केसीका कविताहरू दु:खमा परेका मानिसहरूको पक्षमा रहेको दाबी गरे । समीक्षक सङ्गीतश्रोताले ‘इतिहासमा पराजित बनाइएका वर्गको पक्षमा कविता लेख्ने कवि’ को रूपमा केसीलाई उभ्याए भने घनश्याम घिमिरेले केसीका कविताहरू वर्गीय द्वन्द्वमा केन्द्रित रहेको र स्थापित मान्यता र धरोहरहरू भत्काउने प्रयत्नमा रहेको दाबी गरे । कवि निमेष निखिलले पनि केसीका कविताको चर्चा गरे ।


No comments:

Post a Comment