Wednesday, December 16, 2015

नयाँ–पुराना कलाकारको ‘संरक्षण’

यस वर्ष निखिल उप्रेतीको स्वदेशी फिल्म क्षेत्रमा सुखद कमब्याक भयो । ‘भैरव’ बाट अभिनेता मात्रै नभई आफैं निर्देशकसमेत भई आएका थिए । दर्शकले निखिलसँगै फिल्मलाई पनि रुचाइदिए । लगत्तै उनको ‘लुटेरा’ ले पनि दर्शकलाई निराश पारेन ।
मुम्बईको संघर्षपछि नेपाली फिल्ममै फिरेका निखिलका फिल्मले सफलता पाएपछि उनको स्टारडम पनि फर्केको मानिएको छ । नयाँ धार र युवा फिल्मकर्मीको बाक्लो उपस्थितिले पाखा पर्दै गएका पुराना फिल्मकर्मी र कलाकारलाई समेत निखिलले पाएको सफलताले राहत दिएको छ ।
सोमबार भने नयाँ र युवा फिल्मकर्मी पुर्नेन्दु झाको निर्देशनमा बन्न लागेको ‘संरक्षण’ मा निखिल पनि अनुबन्ध भएका छन् । मल्टिस्टारर फिल्ममार्फत् डेब्यु गर्न लागेका झाले निखिलको अपोजिटमा अर्का अभिनेता सौगात मल्ल राखेका छन् ।
सौगात पनि पछिल्लो फिल्म ‘कबड्डी कबड्डी’ बाट खस्केको स्टारडमलाई मेकअप गर्न सफल भएका छन् । दुवै अभिनेताले फिल्ममा प्रहरीको भूमिकामा रहेको निर्देशक झाले बताए । उनका अनुसार निखिल प्रहरी अधिकृतको रूपमा रहनेछन् भने सौगात थारू समुदायको प्रहरी भूमिकामा हुनेछन् । पोलिटिकल क्राइमलाई मुख्य विषय बनाइएको फिल्मले नेताको संरक्षणमा फस्टाउँदो डनतन्त्रलाई देखाउनेछ ।
माघ पहिलो सातादेखि छायांकन थालिने फिल्मले मधेस आन्दोलनको पृष्ठभूमिलाई पनि समेट्ने छ । फिल्ममा निखिल र सौगातका अलावा मलिना जोशी, नशिष्मा नकर्मी, प्रमोद अग्रहरि, नन्दु श्रीवास्तव, सुशान्त श्रेष्ठ, रमेशरञ्जन झा लगायतको अभिनय रहनेछ ।


No comments:

Post a Comment